शनिबार, ३० जेष्ठ, २०८३

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

२०८३ जेष्ठ ३०, काठमाडौं । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आज उक्त दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार आठ यात्रुको घटनास्थलमा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका १६ जना यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य, तथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

advertisement_1680627680.gif