राष्ट्रिय सन्देश संबाददाता, ४५ मिनेट पहिले
२०८३ भदौ २८ काठमाडौं । पृथ्वी लोकमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो ।
दुईवटा बुलडोजर प्रयोग गरेर सडक सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएसँगै केहीबेरअघिबाट सडक आंशिक रुपमा सञ्चालनमा आएको छ । सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ । सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ ।
यद्यपि तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराइएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए । भित्तामा नालीको काम बाँकी भएकाले बिहीबारबाट त्यो काम सकेर दुईतर्फी रुपमा सडक सञ्चालनमा ल्याइने उनको भनाई छ ।
गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरको सडक कटान हुँदा सडक अवरुद्ध छ ।