आईतवार, १० श्रावण, २०८३

खोलामा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

खोलामा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

२०८३ साउन १०, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित अरुवा खोलामा नुहाउने क्रममा डुबेर एक ९ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर टोल निवासी शेख मुन्नाका ९ वर्षीय छोरा शेख तमिन शनिबार दिउँसो करिब १ बजे मन्जुरघाटस्थित अरुवा खोलामा नुहाउने क्रममा डुबेका थिए ।

घटनाको जानकारी भने राति करिब ९ बजे स्थानीयबासीले इलाका प्रहरी कार्यालय सन्तपुर–लक्ष्मिनियालाई दिएका थिए । सूचना प्राप्त हुनासाथ सई विनोद पासवानको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसअघि नै स्थानीयबासीले बालकको शव खोलाबाट बाहिर निकाली सुरक्षित राखेका थिए ।

पछि प्रहरी निरीक्षक रादेशकुमार खत्रीको नेतृत्वमा अर्को टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो ।

आइतबार बिहान पोस्टमार्टम सम्पन्न भएपछि मृतकका फुपाजु शेख हसमुदिनले शव बुझेर अन्त्येष्टिका लागि लगेका छन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

advertisement_1676551537.gif