राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ कार्तिक २३ काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।
कात्तिक २३ गते दिउँसो १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याप जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो ।
दुर्घटनामा आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जीप आठबिसकोट नगरपालिका–४ का २५ वर्षीय प्रदीप विकले चलाएका थिए ।
दुर्घटनामा १९ वर्षीया जुना कुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, आठ वर्षीय युवराज थापा र चार वर्षीया विरता थापा गम्भीर घाइते भएका छन् । वीरबहादुर जीपका साहु हुन् ।
त्यस्तै, २५ वर्षीया हिरा थापा र दुई वर्षीय गौरव थापा मध्यम घाइते भएका छन्। २३ वर्षीया सुशिला थापा एरी, २८ वर्षीया भावना थापा एरी, २७ वर्षीया खिममाया थापा, २० वर्षीया रमिता एरी र १९ वर्षीया निर्मला एरी सामान्य घाइते भएका छन् ।
घाइतेमध्ये सामान्य र मध्यम अवस्थाका ६ जनालाई दिउँसो १ः२० बजे उपचारका लागि नगर अस्पताल राडी पठाइएको छ। अन्य घाइतेलाई पनि उपचारका लागि पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि चालक प्रदीप विक फरार रहेका छन् । उनको खोजी भइरहेको र दुर्घटनामा परेको जीप घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमाण्डमा चार जना र इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाईँको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएको छ ।