शनिबार, १२ पुष, २०८२

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

२०८२ पुष १२, काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा निर्माणाधीन बहुचर्चित कमला पुलको बाँकी काम भइरहेको छ । आगामी चैतभित्र निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने योजनाका साथ निर्माण कम्पनी पुल निर्माणको काममा खटिएको छ ।

निर्माण व्यवसायीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको कमला पुलको लम्बाइ ४६९ मिटर रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले गत ५ मंसिरमा स्थलगत अनुगमन गरी पुल निर्माण तथा पुनर्स्थापनाको काम तत्काल अघि बढाएर सम्पन्न गर्न निर्देशन दिएका थिए ।

मन्त्री घिसिङले निर्माण कार्यको नियमित अनुगमन गर्ने र काम सन्तोषजनक नभएमा ठेक्का तोड्ने चेतावनी पनि दिएका थिए । उनले हाल नदी रहेको स्थानमा ह्युमपाइप राखेर अस्थायी रूपमा आवतजावतको व्यवस्था गर्नसमेत निर्देशन दिएका थिए । ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दा पनि कमला पुल निर्माणले पूर्णता पाउन सकेको छैन । पुल नबन्दा स्थानीय बासिन्दा सवारीसाधनमा लामो रुट प्रयोग गरी आवत–जावत गर्न बाध्य छन् । स्थानीयलाई कमला नदी वारपार गर्न जोखिमपूर्ण र कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ ।

१७ असार २०७८ मा कमला नदीमा आएको बाढीले पुलको दुई वटा जग भासिएर ४ वटा स्लावमा क्षति पुगेको थियो । क्षति पुगेका स्लावमध्ये सिराहातर्फ (पूर्व)को २ वटा स्लाव हटाइएको छ भने धनुषा(पश्चिम) पट्टिको २ वटा स्लाव हटाउन नपर्ने प्राविधिक अध्ययनबाट देखिएको छ । सोही बमोजिम भाँसिएको जगलाई दह्रो बनाएर स्लाव लिफ्टिङको काम सुरु गरिने बताएको छ । लिफ्टिङका लागि सम्बन्धित विज्ञ प्राविधिकहरूले भ्रमण तथा निरीक्षण गरी अध्ययन गरी कार्ययोजना बनाइरहेका छन् ।

पुलको पूर्वतर्फ (सिराहा)को सबस्टक्चर काम सकिएको छ । सिराहातर्फका २ वटा स्लाव हटाई एउटा जग भासिएकोमा उक्त स्थानमा दुइवटा जग राखी जगसहित सब स्ट्रक्चरको का सकिएको छ । अब प्लेट गडर राख्न बाँकी रहेको छ । उक्त प्लेट गडर बनाउने काम चितवनमा भइरहेको छ । गडर तयार भएपछि पुलमा लगेर जडान गरिने छ ।‍

ठेक्काअन्तर्गत रहेका नदी नियन्त्रण तथा पहुँच सडकको निर्माण भने सुरु हुन सकेको छैन । गत असोजमा कमला नदीमा आएको बाढीपछि नदीको धार परिवर्तन परिवर्तन भएको हुँदा डिजाइनको विषयमा छलफल भइरहेको र डिजाइनको टुंगो लागेपछि निर्माण सुरु हुनेछ । तराई र मधेशको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ को जेठमा २४ करोड ९१ लाख (भ्याटसहित)मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण २०७१ को मंसिरमा सम्पन्न हुनुपर्ने थियो ।

तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि सातौं पटक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो । निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेश भएको छ । हाल ठेक्काको म्याद थपको प्रक्रियामा रहेको छ । हाल बाँकी काम लुम्बिनीले गरिरहेको छ । हालसम्म २० करोड ४३ लाख (भ्याट) सहित भुक्तानी भइसकेको छ ।

advertisement_1676998982.gif