आईतवार, ३१ जेष्ठ, २०८३

टेम्पो भीरबाट खसालेको आरोपमा वन कार्यालयका १० कर्मचारी पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

टेम्पो भीरबाट खसालेको आरोपमा वन कार्यालयका १० कर्मचारी पक्राउ

२०८३ जेष्ठ ३१, काठमाडौं । कैलालीको गोदावरी नगरपालिका-४ को गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले आइतबार वन अधिकृतसहित १० जनालाई निणन्त्रणमा लिएको हो । अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको छ । क्षतिपूर्ति दिनेबारे छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिए ।

भीमदत्त राजमार्ग क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा शुक्रबार टेम्पो खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । घटनाप्रति व्यापक विरोध भइरहँदा डिभिजन वन कार्यालय धनगढीले भने सामाजिक सञ्जालमा प्रचार भएजस्तो कर्मचारीहरूले बल प्रयोग गरेर टेम्पो भीरबाट नखसालेको दाबी गरेको छ । 

यता टेम्पो धनी कैलालीको गोदावरी नगरपालिका-४ बासपानी निवासी धनादेवी धामीले भने वन कार्यालयका कर्मचारीहरूले बल प्रयोग गरेर आफ्नो टेम्पो भीरबाट खसालेको आरोप लगाएकी छिन्। धामीले कानूनी प्रक्रिया पूरा नगरी आफ्नो रोजीरोटीको साधन नष्ट गरिएको भन्दै राज्यका निकायको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएकी छिन् ।

धनादेवीले घटनाबाट आफू र परिवार ठूलो आर्थिक तथा मानसिक संकटमा परेको दुखेसो  गरिन्।

यो घटनामा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि आवश्यक अध्ययन र छानबिन गर्ने जनाएको थियो।

advertisement_1676551646.gif