शनिबार, २ श्रावण, २०८३

देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन ०२, काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको छ ।

वर्षाका कारण २३ भन्दा बढी जिल्लामा बाढीको उच्च जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणका अनुसार पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा उच्च जोखिममा रहेका छन् ।

यी जिल्लामा रातिको सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई प्राधिकरणले आग्रह गरेको छ । अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र नदी कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महत ले तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिए ।

साथै जोखिमयुक्त राजमार्ग तथा सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न र पूर्वसूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।

प्राधिकरणले नदी तथा खोलाको तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान र खोला किनारका बस्तीका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गर्दै विपद्सम्बन्धी सूचना तथा आपत्कालीन सहयोगका लागि सम्बन्धित निकायका हटलाइन सेवाको उपयोग गर्न अनुरोध गरेको छ ।

advertisement_1680627706.gif