राष्ट्रिय सन्देश संबाददाता, ५८ मिनेट पहिले
२०८३ जेष्ठ १५, काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटलाई अवास्तविक र अस्वाभाविक रूपमा बढाइएको भन्दै आलोचना गरेका छन् ।
शुक्रबार बजेट भाषणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेटको आकार करिब साढे २१ खर्ब पुर्याइनु यथार्थपरक नभएको टिप्पणी गरे । विगतमा पनि बजेट अनुमान र वास्तविक खर्चबीच ठूलो अन्तर रहने गरेको उल्लेख गर्दै उनले अहिलेको बजेट पनि त्यसै प्रवृत्तिको निरन्तरता भएको दाबी गरे ।
पुनले वर्तमान बजेटलाई ‘फुलेको र वितरणमुखी’ भन्दै यसले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न नसक्ने बताएका छन् । अनुदान, छुट र सामाजिक सुरक्षा विस्तार सकारात्मक भए पनि त्यसका लागि आवश्यक स्रोत सुनिश्चित नभएको उनको भनाइ छ ।
उनले सरकारले आगामी स्थानीय निर्वाचनलाई ध्यानमा राखेर लोकप्रिय कार्यक्रमहरू बढाएको हुन सक्ने आरोपसमेत लगाए । ‘साना–साना वितरणमुखी कार्यक्रममार्फत जनमत प्रभावित गर्ने प्रयास देखिन्छ,’ उनले भने ।
कृषि, रोजगारी र युवा लक्षित कार्यक्रमहरू बजेटमा उल्लेख्य रूपमा नआएको उनको आलोचना छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई देशभित्र रोजगारी सिर्जना गर्ने स्पष्ट योजना नदेखिएको उनले बताए । ऋण व्यवस्थापनबारे टिप्पणी गर्दै पुनले आन्तरिक ऋण बढाएर खर्च धान्ने प्रवृत्ति दीर्घकालीन रूपमा जोखिमपूर्ण हुने चेतावनी दिए ।
यद्यपि उनले बजेटमा समेटिएका केही विकास तथा पर्यटनसम्बन्धी कार्यक्रमहरू सकारात्मक रहेको उल्लेख गरे । प्रदेशस्तरीय ब्रान्डिङ, पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकासका योजनालाई उनले स्वागतयोग्य भन्दै प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए ।
समग्रमा उनले बजेटलाई ब्रान्डिङ राम्रो भए पनि कार्यान्वयन र स्रोत व्यवस्थापनमा कमजोर रहेको टिप्पणी गरेका छन् ।