राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ भदौ ०९ काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभा बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने स्वास्थ्यगत कारण खुलाउँदै संघीय संसद सचिवालयमा स्वास्थ्य परीक्षण रिपोर्टसहित पत्र पठाएका छन् ।
संसद स्रोतले जनाएअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रमा आँखासम्बन्धी समस्याका कारण प्रधानमन्त्री शाहले कालो चस्मा प्रयोग गर्नुपर्ने अवस्था रहेको उल्लेख छ । संसद बैठकमा कालो चस्माको प्रयोगबारे सभामुखबाट चासो व्यक्त भएपछि त्यसको कारण र स्वास्थ्य परीक्षणसम्बन्धी विवरण सचिवालयमा औपचारिक रूपमा पठाइएको हो ।
प्रधानमन्त्रीले सचिवालयमा उपलब्ध गराएको विवरण अनुसार, उनलाई उज्ज्यालोमा हेर्न असहज हुन्छ । उनले साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखा परीक्षण गराएका थिए, जहाँ लेफ्टिनेट कर्णेल डा. सचित ढकालले प्रधानमन्त्रीको आँखा परीक्षण गरेका थिए ।
आँखा परीक्षणपछि चिकित्सकले उनको आँखा सुक्खा हुने भएकोले बेलाबेला आइड्रपको प्रयोग गरिराख्नुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री बालेनले साउन २६ गते संसद सचिवालयलाई पत्र पठाएरै जानकारी गराएका हुन् ।
उज्ज्यालोमा हेर्न गाह्रो हुने भएकाले नै बालेनले कालो चस्मा लगाउने गरेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शाह बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदै छन्। उक्त बैठकमा सांसदहरूसँग प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम छ।