राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८३ साउन ०९, काठमाडौँ। प्रदेश सभाहरूमा पछिल्लो समय बजेट निर्माणमा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्याहरूलाई समाधान गर्न नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच संयुक्त सरकार गठन गर्नेसम्बन्धी तीन बुँदे सहमति भएको छ ।
जनताको चाहना अनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउने उद्देश्यका साथ दुई राजनीतिक दलहरूबीच सहकार्य गर्ने औपचारिक निर्णय भएको हो । सहमति पत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गर्नुभएको छ ।
सहमति अनुसार दुवै दलले देशका प्रदेश सभाहरूमा आपसमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन्। प्रदेश सरकारको नेतृत्व बाँडफाँडको विषयमा भएको सहमति अनुसार कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सरकारको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने तय भएको छ ।
यसैगरी, मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठन गर्ने सन्दर्भमा भने दुई दलले मात्र निर्णय नगरी प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत आवश्यक परामर्श र छलफल गर्नेछन् । अन्य दलहरूसँगको परामर्शका आधारमा ती दुई प्रदेशमा सरकारको नेतृत्व र सहभागिताको अन्तिम स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ ।