आईतवार, २४ जेष्ठ, २०८३

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ: परराष्ट्र मन्त्री खनाल

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ: परराष्ट्र मन्त्री खनाल

२०८३ जेष्ठ २३, काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताएका छन् ।

भारतीय च्यानल ‘एनडिटिभी’सँग आज विशेष संवाद गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको करिब चार वर्षकै अवधिमा जनचाहना र समर्थनबाट सरकारको नेतृत्वमा पुगेको उल्लेख गर्दै दुई देशको बहु आयामिक सम्बन्धलाई थप सुदृढ गर्न सरकार तत्पर रहेको बताएका हुन् । 

नेपाल र भारतबीच खुला सिमाना भए पनि एकले अर्को देशको सुरक्षा सरोकारलाई आत्मसात् गरेको उल्लेख गर्दै मन्त्री खनालले दुई देशको बहु आयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिए ।

 मौरिससमा भएको कार्यक्रममा आफू र भारतीय समकक्षी एस जयशङ्करसँग भएको भेटको सन्दर्भ उल्लेख गर्दै उनले सम्भव भएका सबै क्षेत्रमा सहकार्य गर्नुपर्ने बताए । मन्त्री खनालले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र सम्पर्क सञ्जाललगायत क्षेत्रमा नेपालले भारतको सहयोग, लगानी र सहकार्यको अपेक्षा गरेको धारणा राखे ।

उनले बङ्गलादेशमा नेपालको विद्युत् निर्यातका लागि भारतको साथ रहने विश्वाससमेत व्यक्त गरे । “हामीले विगतका कुरा लिएर आएका छैनौँ । विगतमा हामीले दुई ठुला छिमेकी मुलुकबाट विकासको लाभ जति लिन  सक्नुपर्दथ्यो, त्यति सकेनौँ । अब पारस्परिक लाभ,  सकारात्मक भविष्यका लागि कूटनीतिक सम्बन्ध प्रयोग गर्छौँ”, मन्त्री खनालले भने, “हामीले अझ राम्रो सहकार्यका क्षेत्र पहिचान गर्दै नेपाली जनताको जीवनयापनलाई सबलीकरणका लागि नयाँ र बहु आयामिक सहकार्य स्थापित गर्नेछौँ ।”

रास्वपा सभापति रवि लामिछानेको हालैको भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी र सरकारबाट भएको भव्य स्वागतले दुई देशबीचको आपसी सम्बन्धलाई नयाँ उचाइमा लिन उत्प्रेरणा मिलेको उनको भनाइ थियो ।

नेपालमा रेलमार्ग विस्तार, शैक्षिक संस्थाको विकास र प्रविधि विस्तारमा चाँडै ठोस सहकार्यका लागि सहमति हुने मन्त्री खनालको विश्वास थियो । तसतै

भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरूले दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी–पार्टी तथा  जनता–जनताबीचको सम्बन्धलाई गाढा बनाउने विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपालको दूतावासले जनाएको छ ।

advertisement_1676553908.gif