राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २९ चैत्र, २०८२
२०८२ चैत्र २९, काठमाडौं ।नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया आगामी वैशाख ४ गते टुङ्ग्याइने भएको छ। पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन मिलाउन नसक्दा ढिलाइ भएको भनिए पनि अब भने यो प्रक्रियालाई थप नलम्ब्याउने निष्कर्षमा नेतृत्व पुगेको हो।
नेपाली कांग्रेसका एक उच्च नेताका अनुसार आगामी ४ गते दलको नेता चयन गर्ने आन्तरिक तयारी पूरा भइसकेको छ। "४ गते दलको नेता चयन गर्ने कुरा भएको छ। भएसम्म सहमतिमा गर्छौँ, नत्र चुनावमै गएर भएपनि यसलाई टुंग्याउने गरी छलफल भइरहेको छ," ती नेताले बताए। पार्टीले हालसम्म सर्वसम्मत नेतृत्व चयनका लागि अधिकतम प्रयास गरिरहेको बुझिएको छ।
संसदीय दलको नेताका लागि पार्टीभित्र प्रभावशाली नेताहरूले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। अहिले मुख्य गरी अर्जुननरसिंह केसी, भीष्मराज आङदम्बे र मोहन आचार्यको नाम चर्चामा छ।
अर्जुननरसिंह केसी: महामन्त्री गगन थापाका ससुरा समेत रहेका वरिष्ठ नेता केसीले आफ्नो दाबीलाई कायमै राखेका छन्। यद्यपि, पार्टीका उपसभापति विश्वप्रकाश शर्माले भने केसीलाई अब 'विश्राम' लिएर युवा पुस्तालाई मार्गप्रशस्त गर्न आग्रह गरिसकेका छन्।
पूर्वसभापति शेरबहादुर देउवा निकटका रूपमा चिनिने आङदम्बेले पछिल्लो समय संस्थापन पक्षको स्पष्ट समर्थन खोज्दै आफ्नो दाबी बलियो बनाएका छन्। युवा नेता आचार्यले पनि दलको नेतामा आफ्नो दाबेदारी प्रस्तुत गर्दै आन्तरिक लबििङ तीव्र पारेका छन्।
कांग्रेसभित्र संस्थापन र इतर पक्षबीचको शक्ति संघर्षका कारण संसदीय दलको नेता चयन पेचिलो बन्दै आएको छ। नेतृत्वले सहमतिको रट लगाए पनि आकांक्षीहरू पछि नहट्ने मुडमा देखिएकाले वैशाख ४ गते निर्वाचन नै हुने सम्भावना पनि उत्तिकै बलियो छ।
पार्टीले अहिले सहमतिको प्रयासलाई जोड दिइरहेको छ, तर लोकतान्त्रिक अभ्यासमा चुनाव नै अन्तिम विकल्प हुन सक्छ," स्रोतले भन्यो।कांग्रेसको यो निर्णयसँगै राष्ट्रिय राजनीतिमा समेत चासो बढेको छ। संसदीय दलको नेता नै भावी प्रधानमन्त्रीको दाबेदार हुने भएकाले पार्टीका सांसदहरू कुन कित्तामा उभिन्छन् भन्ने कुराले कांग्रेसको आगामी दिशा निर्देश गर्नेछ।