राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ बैशाख ०४, काठमाडौं । संघीय संसद्अन्तर्गत रहेका विभिन्न संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधि सभा तथा संयुक्त समितिहरू गरी कुल १२ समितिका सभापतिले निर्वाचन सम्पन्न भएपछि शपथ ग्रहण गरेका हुन् ।
शपथ समारोहमा उपसभामुख रुवीकुमारी ठाकुर, कानुन, न्याय तथा संसमदीय मामिलामन्त्री सोबिता गौतम, राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी, राजनीतिक दलका संसदीय दलका पदाधिकारीलगायत उपस्थित थिए ।
नवनिर्वाचितहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहवर अन्सारी, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल र सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का छन् ।
त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचन, संयुक्त समितितर्फ संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्की निर्वाचित भएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिको सभापतिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी चयन भएका छन् ।
अर्थ समितिमा कृष्णहरि बुढाथोकीले जिम्मेवारी सम्हालेका छन् । निर्वाचित १२ सभापतिमध्ये ११ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट खड्का चयन भएका हुन् ।