आईतवार, ४ आश्विन, २०८३

पार्टी, संसद् र सरकारको सम्बन्ध बलियो बनाउनुपर्छ : रवि लामिछाने

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

पार्टी, संसद् र सरकारको सम्बन्ध बलियो बनाउनुपर्छ : रवि लामिछाने

२०८३ असोज ०४ काठमाडौँ I राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्धलाई थप बलियो र प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिएका छन् ।

आइतबार बसेको रास्वपा सचिवालय बैठकमा धारणा राख्दै सभापति लामिछानेले तीनवटै निकायबीच अन्योन्याश्रित सम्बन्ध हुने भएकाले समन्वय बढाउन निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बैठकमा उनले नेता, सांसद र समर्थकको अनुशासनका विषयमा समेत आवश्यक निर्देशन दिएका थिए ।

यसैगरी, बैठकले गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरूको विषयमा विद्यमान कानुनी जटिलता फुकाउनुपर्ने निष्कर्ष निकालेको छ ।

रास्वपा प्रवक्ता खरेलका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले गरिरहेको पुनर्निर्माण र पुनर्स्थापनाको काममा कुनै कमजोरी हुन नदिन पार्टीले ध्यानाकर्षण गराएको छ । त्यस्तै, फेला परेका शवहरूको पहिचानका लागि डीएनए परीक्षण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउनुपर्ने बैठकको माग छ ।

अझै पनि ठूलो संख्यामा नागरिक बेपत्ता रहेको र उनीहरूका परिवार अन्योल तथा पीडामा रहेकाले परिवारको सहमतिमा आश मारिसकिएको अवस्थामा राहत तथा कानुनी सहजीकरणका लागि आवश्यक प्रक्रिया सहज बनाउन सरकारसँग आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।

advertisement_1680627680.gif