बिहीबार, ७ फाल्गुन, २०८२

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल

२०८२ फागुन ०७, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा बिहीबार शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गरेका छन् । उनले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनि कामना गरेका छन् ।

लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैंले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने कुरालाई बिर्सन नहुने बताउँदै उनले प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउनाका साथै सहिदहरूको अमर गाथा पनि सदैव स्मरण गराउने उल्लेख गरेका छन् ।

“संघीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि हो। लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने छ”, शुभकामना सन्देशमा उल्लेख छ,“जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।”

राष्ट्रपति पौडेलले सुशासनमार्फत मुलुकको विकास र समृद्धि नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट भएकाले यस कार्यमा लाग्न अपिलसमेत गरेका छन् ।

advertisement_1676551646.gif