मंगलवार, ६ आश्विन, २०८३

प्रतिनिधि सभाको बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

प्रतिनिधि सभाको बैठक बस्दै

२०८३ असोज ०६ काठमाडौँ I संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १:०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैबीच, आज संघीय संसद्अन्तर्गतका विभिन्न चार वटा संसदीय समितिका बैठकहरू पनि बस्दैछन् । संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

बिहान १०:०० बजे बस्ने अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल हुनेछ । उक्त बैठकमा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

यस्तै, बिहान १०:०० बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक भने बिहान ११:१५ बजे बस्दैछ । बैठकमा नेपालमा स्वदेशी, वैदेशिक, निजी तथा सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनले लगानीको वातावरणमा पारेको प्रभाव, लगानी सम्मेलनको व्यवस्थापन र कानुनमा गर्नुपर्ने आवश्यक सुधारका विषयमा छलफल हुनेछ ।

यसैगरी, बिहान ११:३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

advertisement_1676551646.gif