२०८३ कार्तिक ११ काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको बिकल्प नरहेको बताएका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा मनोनित केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा. पुष्पा के.सी. भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराउदै अध्यक्ष ओलीले स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको बिकल्प नरहेकाले मानसिक रूपमा तयार रहन नेता तथा कार्यकर्तालाई आह्वान समेत गरेका हुन् ।
उनले पार्टीलाई बलियो बनाउन, एकताबद्ध राख्न र प्रतिगमनलाई पराजित गर्न आन्दोलनको तयारी गर्ने बताए । कठिन राजनीतिक परिस्थितिमा पनि सत्य, न्याय र देशको पक्षमा उभिएर आन्दोलनात्मक र अनुशासित ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
त्यस्तै अध्यक्ष ओलीले देशमा आतङ्क फैलाउने, र विना बर्दीका प्रहरी प्रयोग गरी बलजप्ती र गिरफ्तारी गर्ने जस्ता अराजक काम गरिरहेको आरोप लगाएका छन् । देशी–विदेशी तथा आन्तरिक–बाह्य सबै शक्तिहरू एकजुट भएर सिध्याउन खोज्दा पनि एमाले मजबूत हैसियत र लोकप्रिय मतका साथ उभिएको उनले धारणा राखे ।
उनले अघिल्लो चुनाव पारदर्शी नभएको र प्रतिगमनको दोस्रो शृङ्खला भएको टिप्पणी गर्दै आगामी दिनमा एकता र अनुशासनका साथ अगाडि बढेर जित हासिल गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीभित्र देखिने विकृत प्रवृत्ति, अराजकता र अनुशासनहीनता सैह्य नहुने भन्दै अध्यक्ष ओलीले यसलाई अन्त्य गर्नुपर्ने बताए ।
आफ्नै पार्टी, नेतृत्व वा नीतिको विरुद्धमा बाहिर सार्वजनिक रूपमा बोल्नु संस्थागत नियम विपरीत भएकाले सचेत रहन उनले आग्रह गरे ।
राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
