आईतवार, ११ आश्विन, २०८३

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई प्रधानमन्त्री बालेन शाह स्वदेश फिर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई प्रधानमन्त्री बालेन शाह स्वदेश फिर्ता

२०८३ असोज १० काठमाडौँ I संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किएका छन् । उनी शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

महासभामा सहभागी हुन गत मंगलबार साँझ अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्क बसाइका क्रममा उनले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय सहकार्यबारे धारणा राखेका थिए ।

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी-त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याएको सङ्कटको प्रत्यक्ष उदाहरणका रूपमा प्रस्तुत गरे । हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै उनले जलवायु उत्सर्जनमा नगण्य योगदान रहेका नेपालजस्ता देशहरूले यसको ठूलो मूल्य चुकाउनुपरेको बताए ।

‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्दै उनले हिमनदी पग्लिने, पहिरो र बाढीजस्ता जोखिम नेपालसहित छिमेकी मुलुक चीन र भारतसम्म फैलिएको उल्लेख गरे ।

साथै, जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित नगरी हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित मुलुक र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्नेमा उनले जोड दिएका छन् ।

advertisement_1676998982.gif