राष्ट्रिय सन्देश संबाददाता, २० घण्टा पहिले
२०८२ फागुन ०६, पाल्पा । पाल्पा-१, मा नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्यले देशको अस्तित्व रक्षा र समृद्धिका लागि एमाले नै एक मात्र राष्ट्रवादी शक्ति भएको स्पष्ट पारेका छन् । माथागढी गाउँपालिकाको बहादुरपुर, रहबास, पूर्वखोलाको जल्पा र देवीनगरलगायतका क्षेत्रका मतदाता भेटघाटमा पुगेका आचार्यले एमाले नेतृत्वको सरकारसँग रहेकाे स्राेतसाधनकाे उपयाेगबाट जनताको जीवनस्तर बदलिएको बताए ।
जनताका गुनासा सुन्दै र आफ्ना भावी योजना सुनाउँदै उम्मेदवार आचार्यले साठीकोल–जल्पा–बेतेनी–बहादुरपुर–दुम्कीबास सडक निर्माण सम्पन्न भएसँगै यस क्षेत्रका नागरिकलाई आवतजावत र कृषि उत्पादन ढुवानीमा ठूलो राहात मिलेको उल्लेख गरे ।
उनले भने, “हिजोका दिनमा यहाँका बासिन्दाले खानेपानीका लागि निकै सास्ती भोग्नुपथ्र्यो, तर अहिले मैदान र साठीकोल क्षेत्रमा लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएपछि जनताले आनन्दको सास फेर्न पाएका छन् ।”
पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका नयाँ शक्तिहरूप्रति लक्षित गर्दै उहाँले “नयाँका नाममा योजना र धैर्यता नभएका व्यक्तिहरूले निर्वाचनका बेला अफवाह फैलाइरहेका छन् ।” आचार्यले भन्नुभयो, “सामाजिक सञ्जालको अल्गोरिदम प्रयोग गरेर भ्रम छर्नेहरूले गाउँको वास्तविक दुख बुझेका छैनन् । ग्रामीण क्षेत्रका नागरिकलाई अप्ठेरो पर्दा सधैँ एमाले नै साथमा उभिएको छ ।”
उहाँले आगामी दिनमा शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा दीर्घकालीन योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए ।