राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ जेष्ठ २४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले विकास, समृद्धि र सुशासन प्रवर्द्धनका लागि राजनीतिक दलहरूबीच सहकार्य अनिवार्य रहेको बताएका छन् ।
रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले जनताबाट प्राप्त मतलाई प्रतिपक्ष वा प्रतिस्पर्धी दलसँग विवादमा जाने उद्देश्यका रूपमा बुझ्न नहुने स्पष्ट पारे । उनका अनुसार सबै राजनीतिक शक्ति मिलेर अघि बढे मात्र प्रभावकारी नतिजा हासिल गर्न सकिनेछ ।
महामन्त्री बुर्लाकोटीले गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि पहल भइरहेको जानकारी दिँदै अर्थ मन्त्रालयसँग पटक–पटक छलफल भएको बताए । उनका अनुसार उद्योग सञ्चालन निजी क्षेत्रको सहभागितासहित वा सरकारी–निजी साझेदारीमार्फत गर्न सकिने सम्भावना रहेको छ ।
उनले उद्योगलाई सक्रिय बनाइ सबै सवारीसाधनमा स्वदेशी उत्पादनको प्रयोग बढाउने लक्ष्य राखिएको उल्लेख गरे ।
त्यस्तै, बूढी गण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रियालाई अघि बढाउन आगामी बजेटमार्फत केही रकम विनियोजन गरिएको र आयोजना सञ्चालनका लागि अधिकार सम्पन्न संरचना गठन गर्ने तयारी भइरहेको जानकारी उनले दिए ।
उनका अनुसार राजनीतिक प्रणाली सुधार भए मात्र समग्र क्षेत्रको विकास सम्भव हुने भएकाले सरकारले सोही दिशामा प्रयास गरिरहेको छ ।
महामन्त्री बुर्लाकोटीले रेमिट्यान्समा मात्र निर्भर अर्थतन्त्रले दीर्घकालीन समृद्धि नदिने उल्लेख गर्दै देशभित्रै औद्योगिक विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए ।
उनका अनुसार आगामी आर्थिक वर्षको बजेट विकास, पूर्वाधार निर्माण र आर्थिक समृद्धि केन्द्रित रहेको छ ।