राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १० जेष्ठ, २०८१
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो ।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
राजकुमारका रूपमा जन्मिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बनेका थिए । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए ।