मंगलवार, १७ असार, २०८२

आज बडादशैंको सप्तमी; फूलपाती भित्र्याइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २४ आश्विन, २०८१

आज बडादशैंको सप्तमी; फूलपाती भित्र्याइँदै

काठमाडौं, असोज २४ । बडा दसैंको सातौं दिन आज फूलपाती भित्र्याइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा जमरा राखिएको ठाउँमा साँझपख देवीको आराधनासहित फूलपाती भित्र्याउने चलन छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैं घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

फूलपातीलाई नौवटी देवीको प्रतीकका रूपमा भित्र्याउने चलन रहिआएको पनि संस्कृतिविद्हरूले बताए। केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ ।

यस्तै, हनुमानढोका दरबारको दशैं घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दशैं घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रही आएको छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दशैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा सङ्लग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीब्र हुने गर्दछ।

फलस्वरूप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिंगे पिङ र रोटे पिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif