मंगलवार, १७ असार, २०८२

आज हरितालिका तीज ; नेपाली हिन्दु नारीहरुले महादेव पूजा गरी, व्रत बसेर मनाउँदै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १ आश्विन, २०८०

आज हरितालिका तीज ; नेपाली हिन्दु नारीहरुले महादेव पूजा गरी, व्रत बसेर मनाउँदै

काठमाडौं। नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज (सोमबार) परेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा हरितालिका तीज मनाउने गरिन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरूले भगवान महादेव (शिव) को पूजा आराधना गरेर व्रस्त बस्दै मनाउने प्रचलन छ । 

भगवानको आराधनासहित आजका दिन महिलाहरुले तीज गीतको भाकामा आफ्ना वर्र्षभरिका पीडा पोख्दै गीत गाउने र नाच्ने गर्दछन् । हिन्दू नारीहरुको महान चाड तीजको दोस्रो दिन आज ब्रत बसेर मनाईदै छ । अर्थात् सखीहरुद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउन गरेको उपवास ब्रतलाई हरितालिका तीज भनिएको मान्यता हिन्दू धर्ममा उल्लेख छ ।

हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरुले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जला ब्रत बसेको हुनाले यसलाई हरितालिका तीजको ब्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ ।

हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका ब्रतमा पतिको लामो आयुको कामना गरी निराहार ब्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर ब्रत तोड्ने परम्परा छ । परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरु निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको ब्रत बस्ने गर्दछन् ।

भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने ब्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रुपमा मीठामीठा परिकार खाने चलन छ ।

तीजको दर खान विशेष गरी माइतीले छोरी–चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन पनि यस पर्वमा गरिन्छ । यस चाडलाई नारी स्वतन्त्रताको प्रतीकका रुपमा पनि लिने गरिन्छ ।

तीज पर्वको अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा महिला भक्तजनहरुको चहलपहल बढेको छ ।सरकारले महिला कर्मचारीका लागि आज बिदा दिएको छ ।

नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा तथा देश बिदेशमा रहनुभएका सम्पुर्ण महिला दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्‍यक्‍त गर्दछौ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif