राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २५ श्रावण, २०८२
२०८२ साउन २४, काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदैछ । हरेक वर्षको श्रावण शुक्ल पूर्णीमाका दिन जनै पूर्णिमा मनाउने गरिन्छ । यो पर्वलाई रक्षा बन्धन वा ऋषी तर्पणी पनि भन्ने गरिन्छ ।
तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।मानव रक्षाका लागि जप, तप र पूजा गरि मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।
आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरि तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरि एक छाक मात्र खाएर चोखोनीतो गरि बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गइ गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् ।
तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइका नाडिमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक ‘राखी’ बाँधिदिने चलन छ । आजै विभिन्न नौ प्रकारका गुडागुडी मिसाएर पकाइएको क्वाँटी खाने गरिन्छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षातका कारण चिसो भएको शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ । नेवारी समुदायले भने आजका दिन ‘गुन्हु पुन्ही’ मनाउने प्रचलन छ ।
रक्षा बन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर, वसन्तपुरमा रहेको अशोक विनायकलगायत वाग्मती नदीको किनार र काठमाडौं उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ ।