राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २६ बैशाख, २०८१
काठमाडौं । आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिनका रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मनाइँदैछ ।
वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ।
आमा नभएकाहरुले दिवङ्गत आमाको नाममा श्राद्ध गरी स्मरण गर्ने गर्दछन् । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ । आमा नहुनेहरुले आज काठमाडौंको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने प्रचलन छ ।
दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ। वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता पनि छ ।
मातातीर्थ औंशीजन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ ।
आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीका दिन काठमाडौंको थानकोट क्षेत्रमा रहेको मातातीर्थमा मेला लागेको छ ।