राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १२ भाद्र, २०८२
२०८२ भदौ ११, काठमाडौँ । आज ऋषिपञ्चमी हिन्दू नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।
काठमाडौंको गुहेश्वरी गौरीघाट लगायत विभिन्न शक्तिपीठ र नदी किनारमा सप्तऋषिको पूजा गर्ने श्रद्वालुको घुँइचो लागेको छ । रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
ऋषिपञ्चमी ब्रत आराधनाको लागि काठमाडौंको गुहेश्वरी गौरीघाट लगायत विभिन्न शक्तिपीठ , नदी किनार तथा घर घरमा जम्मा भएर सामुहिक रुपमा सप्तऋषिको पूजा गर्ने श्रद्वालुको घुँइचो लागेको छ ।