मंगलवार, ९ भाद्र, २०८३

आज साउन १५ खिर खाने दिन, आठौँ राष्ट्रिय खिर दिवस मनाइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १५ श्रावण, २०८३

आज साउन १५ खिर खाने दिन, आठौँ राष्ट्रिय खिर दिवस मनाइँदै

२०८३ साउन १५, काठमाडौँ । आज साउन १५ खिर खाने दिन ! नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुमा असार १५ गते दही–चिउरा र साउन १५ गते खिर खाने प्रचलन प्राचीनकालदेखि मौलिक परम्पराका रूपमा रहिआएको छ ।

वर्षायाममा दूध प्रशस्त हुने र स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिएकाले यो चलन बसेको विश्वास गरिन्छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘खीर दिवस’का रूपमा मनाउँदै आएको छ ।

साउने झरी पर्ने बेला तातो खिर स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले खिर खाने चलन बसेको विश्वास गरिन्छ। दूधमा चामल, चिनी, गरम मसला तथा अन्य सामग्री मिसाएर बनाइने खिरले शरीरलाई ऊर्जा र पोषण दिने जनविश्वास छ ।

संस्कृत भाषामा ‘पायस’ भनिने खिर सात्त्विक आहारमध्ये उत्कृष्ट मानिन्छ। पितृकार्य तथा देवकार्यमा यसको विशेष महत्त्व रहेको वैदिक शास्त्रमा उल्लेख छ। साउन महिनासम्म गाउँघरमा अधिकांश खेतीपातीको काम सकिने, हरियाली बढ्ने र गाईभैँसीले प्रशस्त दूध दिने भएकाले इष्टमित्र र छोरीचेलीलाई घरमा बोलाएर खिर खुवाउने परम्परा विकास भएको मानिन्छ ।

साउन भगवान् शिवको महिना मानिन्छ। शिवलाई दूध तथा दूधबाट बनेका परिकार प्रिय हुने धार्मिक विश्वासका कारण खिरलगायत मिठाइ विधिपूर्वक चढाउने चलन छ । 

खिर चामल, साबुदाना, सेवइ, मकै, गाजरलगायत विभिन्न सामग्रीबाट बनाइन्छ। साबुदानालाई फलफूलकै वर्गमा राखिन्छ। साउनमा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खिर बनाएर खाने चलन पनि नेपाली समाजमा छ। खिर खानुअघि देवतालाई चढाएर खाने धार्मिक विश्वाससमेत रहिआएको छ ।

धार्मिक दृष्टिकोणले साउन भगवान् शिवको प्रिय महिना भएकाले र ऋषिमहर्षिको पालादेखि नै देव तथा पितृकार्यमा खिर चढाइने भएकाले पनि यसको विशेष महत्त्व रहेको छ । सनातन संस्कृतिमा आजका दिन चामलका साथै साबुदाना, सेवई, मकै वा गाजरको खिर बनाएर पहिले देवतालाई चढाएर मात्र खाने गरिन्छ ।

नेपाली समाजमा मौसम अनुसारका खानेकुरा खाने परम्परा रहेझैँ साउन १५ को खिरको सांस्कृतिक महत्त्वलाई जोगाउन राष्ट्रिय दुग्ध विकास बोर्डले यस दिनलाई खिर दिवसका रूपमा मनाउन थालेको हो ।

यसै क्रममा आज देशभर आठौँ राष्ट्रिय खिर दिवस समेत मनाइँदै छ । पोषणविद्हरूका अनुसार प्रशोधित दूधबाट बनेको खिरले शरीरलाई पर्याप्त ऊर्जा र पोषण प्रदान गर्दछ ।

advertisement_1680627680.gif