सोमबार, ४ कार्तिक, २०८२

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै, देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ३२ श्रावण, २०८२

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै, देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

२०८२ साउन ३१, काठमाडौं । आज भाद्र कृष्ण अष्टमीका दिन हिन्दू धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्मदिवस अर्थात् श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भक्तिभाव र उल्लासका साथ मनाइरहेका छन्  । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व मनाउने गरिन्छ ।

द्वापर युगमा पिता वासुदेव र माता देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । मामा कंशको कैदमा रहेको अवस्थामा जन्मिएका श्रीकृष्णले मानव जीवनका लागि मूल्यवान् मानिने धर्म, कर्म, प्रेम, र नीतिका सन्देशहरू प्रवाह गरेको मानिन्छ ।यसैकारण आजको दिनलाई ‘श्रीकृष्ण जयन्ती’ वा ‘गोकुलाष्टमी’ जस्ता नामले पनि चिनिन्छ ।

यस अवसरमा देशभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विशेषगरी ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । धर्मावलम्बीहरू दिनभर व्रत बसी रातको समयमा श्रीकृष्णको जन्म भएको मुहूर्तमा पूजाआजा गर्ने गर्दछन् । यसैगरी, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन)को कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

advertisement_1676551537.gif