राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १० भाद्र, २०८१
काठमाडौँ, भदौ १० । वैदिक सनातन हिन्दू धर्मावलम्बीलेआज ‘श्रीकृष्णजन्माष्टमी’ पर्व नेपाल भारत लगायत विश्वका हरेक स्थानमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन। ज्ञानयोग , कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो ।अर्थात आजकै दिन भएको थियो त्यसैले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । खास गरि तीन रात्रिहरु शिव रात्री ,काल रात्रि र मोह रात्रि महत्वपुर्ण रात्रिका रुपमा शास्त्रहरुमा व्याख्या गरिएको छ।भने यी रात्रिहरुमा भगवानको जप आराधना तथा भजन किर्तन गरि रातभर जाग्राम बस्नु पर्ने शास्त्रीय मान्यता रहेको छ ।आज अर्थात मोह रात्रिको दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र अधर्म बाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको अवतारका रूपमा भगवान स्वयम् अवतरित हुनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्य र धर्मको पालना गरि मानब समाजलाई रहन प्रेरित हार्नु भएको थियो । कुरुक्षेत्रमा पाण्डव र कौरवबिचको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई युद्ध मैदानमा उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट दिएको ज्ञान ‘श्रीमद्भागवतगीता’ जस्तो पवित्र ग्रन्थ का रुपमा विश्वभर परिचित छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ भने मानव का लागि अत्यन्तै उपयोगी ग्रन्थ रुपमा परिचित छ । गीताको महत्वबारे भनिएको छ।
सर्व उपनिषदो गावो दोग्धा गोपाल नन्दनः।पार्थःवत्स सुधीभोक्ता दुग्धं गीता अमृतं महत्।
बाल्यकालदेखि नै आफ्ना अद्भुत लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।
यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लागेको छ । बिहानै देखि कृष्ण भगवानको दर्शनका लागि भक्तजनहरु लाइन मा बसेका छन् । उता बूढानीलकण्ठमा रहेको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) रहेको श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको ठुलो भिड लागेको छ । श्री कृष्णका भक्तहरुले भब्य रुपमा भजन कृतन तथा श्रीमद्भागवतगीता को पाठ गरि मनाउने गर्दछन । श्री योग बेदान्त सेवासमिति काठमाडौँ ले पनि गीताको पाठ र भगवानको जप गरेर जन्मास्तामै पर्व मनाउदै । यसैगरी देशका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ ।
यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक सङ्घ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । शोभायात्रा आज मध्यरातमा श्रीकृष्णको जन्म भएपछि मङ्गलबार निकाल्ने गरिन्छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।