सोमबार, ४ कार्तिक, २०८२

आज विश्वकर्मा पूजा, वास्तु दिवस तथा राष्ट्रिय विज्ञान दिवस मनाइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १ आश्विन, २०८२

आज विश्वकर्मा पूजा, वास्तु दिवस तथा राष्ट्रिय विज्ञान दिवस मनाइँदै

२०८२ असोज १, काठमाडौँ I आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । नेपालभर मनाइने विश्वकर्मा पूजा केवल धार्मिक विश्वासमा मात्र सीमित नभई श्रमिकको श्रम, औद्योगिक उत्पादन र निर्माण कार्यसँग प्रत्यक्ष रूपमा जोडिएको पर्वका रूपमा रहेको  छ ।

विश्वकर्मालाई प्राचीन ग्रन्थहरूमा देव शिल्पी अर्थात् “देवताका वास्तुविद्” भनेर सम्बोधन गरिएको छ । हिन्दु धर्मशास्त्रका अनुसार, भगवान् विश्वकर्मा ब्रह्माको वंशज मानिन्छन्, जसले तीनै लोकको निर्माण गरी सृष्टिलाई व्यवस्थित बनाएका थिए ।

विश्वकर्मा भगवानलाई सृष्टिको पहिलो अभियन्ता, अभियन्ता–इन्जिनियर र वास्तु शास्त्रका आचार्य मानिन्छ । शास्त्रीय मान्यताअनुसार सम्पूर्ण भवन, विमान, हतियार, औजार, रचना तथा कलात्मक संरचनाको सिर्जना भगवान् विश्वकर्माबाटै भएको विश्वास गरिन्छ । त्यसैले यो दिनलाई ‘श्रमिक दिवस’ वा ‘उद्योग–उत्पादनको पर्व’का रूपमा समेत मनाइन्छ ।

सत्ययुगमा स्वर्ग लोकको निर्माण, त्रेता युगमा रावणको राजधानीको निर्माण, द्वापर युगमा भगवान् श्रीकृष्णको नगरी द्वारकाको निर्माण र कलियुगमा जगन्नाथ मन्दिरका विशाल मूर्तिहरूको निर्माण गरेको विश्वास गरिन्छ। मन्दिर वा घरमा पूजासँगै विभिन्न औजार, मेसिन, सवारीसाधन, उद्योग–धन्दा आदिलाई पनि पुजिन्छ । यसो गर्दा काममा आउने सबै बाधा–अड्चन हट्ने, उद्योग–व्यवसायमा प्रगति हुने, सवारीसाधनमा दुर्घटना कम हुने तथा परिवारमा समृद्धि र शान्ति स्थापित हुने विश्वास छ ।

advertisement_1676551694.gif