राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १७ पुष, २०८१
१७ पुष, काठमाडौं । आजबाट अँग्रेजी नयाँ वर्ष इस्वी संवत सन् २०२५ प्रारम्भ भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को बिदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भएका छन् ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताए ।
नेपालका मुख्य शहर तथा विशेष गरी विदेशी पर्यटकहरु रहने स्थानमा विविध साँस्कृतिक कार्यक्रमसहित नयाँ वर्षको स्वागत गरिएको छ । विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।