सोमबार, ४ कार्तिक, २०८२

बौद्ध धर्मावलम्बी एक महिने गुँला पर्व आजदेखि

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १० श्रावण, २०८२

बौद्ध धर्मावलम्बी एक महिने गुँला पर्व आजदेखि

९ साउन २०८२, काठमाडौं । एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ ।

नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रूपमा लिइएको छ । नेपाल संवतको नौ महिनामा पर्ने यो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीले समेत सहभागिता जनाउने गरेका छन् । धर्म सञ्चय गर्ने महिनाका रूपमा यस अवधिमा स्वयम्भू महाचैत्यमा एक महिनासम्म मेला पनि लाग्ने गर्छ । 

भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरीको दर्शन गरी केलटोलस्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ । नेवारी समुदायले बजाउने परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक गाजाबाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ । 

यस पर्वमा स्वयम्भू, महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, बौद्ध, पाटनको पुल्चोकका साथै उपत्यकाका विभिन्न चैत्यस्थलको परिक्रमा गरिन्छ । गुँला पर्वका अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन छ ।

advertisement_1676553851.gif