राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ९ भाद्र, २०८२
२०८२ भदौ ०९, काठमाडौँ । नेपाली हिन्दु नारीहरुले मनाउने महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदै छ ।
भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि महिलाहरुले दर खाने परम्परा छ ।
दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन रहेको छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको रहेको पाइन्छ ।
धार्मिक मान्यता अनुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्धितीयका दिन दर खाई तृतीयका दिन ब्रत बसेको किंवदन्ती छ । अविवाहिताहरुले महादेव जस्तै पति पाउनका लागि र विवाहिताहरुले आफना पतिको दीघार्युको कामना गर्दै निराहार ब्रत बस्ने चलन छ ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।