बिहीबार, ३ बैशाख, २०८३

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २४ मंसिर, २०८२

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

२०८२ मंसिर २३, रुपन्देही । लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ । लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा भारतीय राजदूतावासले आइतबार महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा राकेश पाण्डेले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा नागरिक समाजका सदस्यहरू, शिक्षाविद्हरू, वरिष्ठ भिक्षुहरूका साथै लुम्बिनी विकास कोषका सदस्यहरुसहितको सहभागिता थियो । साथै दुवै देशका चर्चित कलाकारहरूको प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

श्री सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा छ सदस्यीय आइसिसीआर समूहले बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुत गरेको थियो । साथै नेपाली ब्याण्ड ‘घुगु मुगु’ द्वारा परम्परागत सङ्गीत प्रस्तुति पनि समावेश गरिएको भारतीय दूतावासले जनाएको छ ।

महोत्सवको एक भागका रूपमा आज लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘इन्डिया–नेपाल बुद्धिष्ट हेरिटेजः अ कमन लिगेसी’ शीर्षकको शैक्षिक गोष्ठी आयोजना गरिएको थियो । उक्त गोष्ठीले भारत र नेपालका प्रख्यात बौद्ध विद्वानहरूलाई एकै ठाउँमा ल्याएको थियो । जसले दुई देशबीच सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्न र जनता–जनताबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न बौद्ध सम्पदाको महत्त्वबारे आफ्ना अन्तदृष्टि आदानप्रदान गरेका थिए ।

advertisement_1676553851.gif