सोमबार, ४ कार्तिक, २०८२

मुस्लिम समुदायको ईद उल फित्र पर्व आज, देशभर सार्वजनिक विदा

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १७ चैत्र, २०८१

मुस्लिम समुदायको ईद उल फित्र पर्व आज, देशभर सार्वजनिक विदा

१८ चैत्र २०८१, काठमाडौं । पवित्र रमजान महिनाको समापनसँगै इस्लाम धर्मावलम्बीहरूले आज ईद उल फित्र पर्व श्रद्धा, उत्साह र भाइचाराका साथ देशभर मनाउँदै छन् । मुस्लिम समुदायको प्रमुख धार्मिक चाड मानिने यो पर्वका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

मुस्लिम धर्मावलम्बीहरूको याे महान् पर्व (इदुल फित्र) आज देशभरका मुस्लिम समुदायले हर्षोल्लासपूर्वक मनाउँदै छन् । इदुल फित्र अर्थात् रमजान पर्वको समाप्तिमा यो पर्व मनाउने धार्मिक विधि रहिआएको छ । नेपाल सरकारले इस्लाम धर्मावलम्बीको मुख्य पर्व ईदका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रूपमै महत्त्व दिएको छ ।

यस अवसरमा विशेष रूपमा सेवईको खिर, खजुरलगायतका मीठा खानेकुरा बनाएर आफन्त, साथीभाइलाई खुवाउने चलन छ। आफूभन्दा सानालाई आशीर्वाद दिने र दीनदुःखीलाई दान दिने यो पर्व सामाजिक सद्भाव, सहिष्णुता र परोपकारको प्रतिकका रूपमा मनाइन्छ ।

ईदको दिन मुस्लिम धर्मगुरुहरूले कुरानको वाचन गर्दै सदाचार र सत्कर्मको मार्गमा चल्न प्रेरणा दिने गरेका छन्। नमाजपश्चात मस्जिद वा खुला स्थानमा एक–अर्कालाई शुभकामना आदान–प्रदान गर्दै पर्वको उल्लास साटासाट गरिन्छ ।

advertisement_1744958411.jpg