राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १ आश्विन, २०८१
तस्विर: राष्ट्रिय सन्देश
काठमाडौं, असोज १ । काठमाडौं उपत्यकामा सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइएको छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ।
रथ तान्ने क्रममा वसन्तपुरमा राष्ट्रपति लगायत उच्च पदस्थ व्यक्तित्वहरु उपस्थित भई जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए। सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रयाद यादव, प्रधानमन्त्री केपी ओली लगायतले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा अवलोकन गरेका छन् ।
विभिन्न देवदेवताको गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा आदिले पनि तिनै देवदेवताको रथसँगै शहर परिक्रमा गरेका छन् । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ ।
यसरी लिंगो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिंगोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।