राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १३ जेष्ठ, २०८२
१२ जेठ २०८२, काठमाडौं । पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिको कामना गर्दै मिथिलाञ्चचलमा महिलाले सोमबार बरसाइत (बट सावित्री) पर्व मनाउदै छन् । नयाँ वस्त्र पहिरी, सोह्र श्रृंगार गरेर महिलाले सौभाग्य-समृद्धिका लागि वरको रूखमा दूध र जल चढाई श्रद्धापूर्वक बरसाइत (बटसाबित्री) पर्व मनाईन्छ । वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुने तथा सावित्री पनि सोही रूखमा प्रतिष्ठापित हुने मान्यताअनुसार पतिको दीर्घायुका लागि व्रत गर्ने गरिन्छ ।
सोमबार बिहानैदेखि जनकपुर तथा ग्रामिणभेगमा रहेको वरको रुखमुनि पुजा गर्न महिलाहरु लाम लागेको थियो । नवविवाहिता महिलाले पहिलो वरसाइत (विहेपछि आउने पहिलो पर्व) अनिवार्य रुपमा श्रीमानकै घरमा मनाउनुपर्छ ।अघिल्लो दिन नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि सोह्र श्रृंगार अर्थात् लाउने लुगादेखि चुरासम्मका सबै श्रृंगार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ ।
सुरुमा ब्राह्मण, क्षेत्री, बैश्य र कायस्थले मात्र मनाउने पर्व अहिले सबै मैथिल समुदायका साथै तराईमा बसोबास गर्ने पहाडी, माडबारी समुदायले समेत मनाउन थालेका छन् । बिहानै नुहाई रातो पहिरनमा नजिकको वर (बट) को रुखमुनि बसेर पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल, काँक्रो, केरा, स्याउ, अंगुर, आँप, लिची र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिँदुरले रगाउँछन् । प्रसाद चढाइसकेपछि ब्रतालुले वरको रुखमा सात फेरो पहेलो र रातो धागोले बेर्छन् ।
वरको रूखको पूजासँगै जेष्ठ महिलाले रुखमुनि गौरी, भगवती र विसहराको कथा भन्ने र अरुहरुले सुन्ने गर्छन् । पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्ने गर्छन् ।ब्रतालु महिलाले बट सावित्री व्रतका दिन सिन्दूर, फल, फूल, अक्षता, बाँसको पंखा, चना र मिठाईले सावित्री, सत्यवान, नाग र यमराजको पूजा गर्छन् । नयाँ फल आँप, लिच्ची, केरा, भिजाएको चना आदी चढाएर पूजा गरी बाँसको पंखाले हम्कनाले शितलता प्राप्त विश्वास रहिआएको छ ।
प्रेम, श्रद्धा र समर्पणको यो पर्व पवित्र प्रेमको पौराणिक कथामा आधारित छ । सनातन काल त्रेतायुगदेखि मनाउन थालिएको बट सावित्रीको पूजा गरेमा महिलाले अखण्ड सौभाग्यवतीको आर्शिवाद प्राप्त गर्ने विश्वास रहेको छ।पतिव्रता सावित्रीले यही पर्व गरेर मृत पति सत्यवानलाई यमराजबाट फिर्ता गरेको धार्मिक मान्यता छ ।