राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १६ जेष्ठ, २०८०
काठमाडौं, जेठ १६ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । सोमबार बेलुका भएको खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नाईले डिएल पदतीको आधारमा ५ विकेटले उपाधि हात पारेको हो ।
पहिलो दिन वर्षाले टससमेत हुन नसकेको अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा रिजर्भ डेमा पनि वर्षाले असर गरेको थियो । खेलमा पहिले ब्याटिङ गरेको गुजरातले ४ विकेटको क्षतिमा २१४ रन बनायो ।
साइ सुदर्शनले ४७ बलमा ९६ रन जोडे । त्यस्तै ऋद्धिमन साहाले ३९ बलमा ५४, शुबमन गिलले २० बलमा ३९ तथा कप्तान हार्दिक पाण्डेयाले १२ बलमा अविजित रहँदै २१ रन जोडे । मथिशा पथिरानाले २ विकेट लिए ।
जवाफमा ३ बल खेल्दा वर्षाले केही समय प्रभावित भएपछि १५ ओभरमा १७१ रनको नयाँ चुनौती पाएको चेन्नईले ५ विकेट गुमाएर पूरा गर्यो । रविन्द्र जडेजाले अन्तिम बलमा चौका प्रहार गर्दै चेन्नईलाई जिताए ।
प्लेयर अफ द फाइनल देवोन कन्वेले २५ बलमा ४७, शिवम दुवेले २१ बलमा अविजित रहँदै ३२, अजिन्क्या रहानेले १३ बलमा २७, ऋतुराज गायकवाडले १६ बलमा २६, अम्बाति रायुडूले ८ बलमा १९ तथा रविन्द्र जडेजाले ६ बलमा अविजित रहँदै १५ रन जोडे । मोहित शर्माले ३ विकेट लिए ।
१० टोलीले सहभागीता जनाएको यो प्रतियोगितामा लिग चरणमा शीर्ष स्थानमा रहँदै गुजरात र दोस्रो स्थानमा रहँदै चेन्नईले पहिलो क्वालिफायर खेलेका थिए । उक्त खेल चेन्नईले जितेपछि गुजरातले दोस्रो क्वालिफायर खेल्दै मुम्बई इन्डियन्सलाई हराएर फाइनलमा पुगेको थियो ।
चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । पहिलोपटक आईपीएल खेलेको गुजरात अघिल्लो वर्ष पहिलो प्रयासमै च्याम्पियन बनेको हो ।