शुक्रबार, २६ भाद्र, २०८३

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, उपाधिका लागि युएईसँग भिड्ने

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, उपाधिका लागि युएईसँग भिड्ने

२०८३ भदौ २५ काठमाडौं । नेपाल एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा सम्पन्न सेमिफाइनल खेलमा ओमानलाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १४७ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ५१ रनको अर्धशतकीय पारी खेले भने बसिर अहमदले ४७ रनको महत्त्वपूर्ण योगदान दिए। अन्य ब्याट्सम्यानहरूमा देव खनालले १३ र आसिफ शेखले ११ रन बनाउनु बाहेक अन्य कसैले पनि दोहोरो अङ्क छुन सकेनन्। बलिङतर्फ ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन-तीन, मुहम्मद इमरानले दुई तथा मुजीबुर अलि र शकिल अहमदले एक-एक विकेट लिएका थिए ।

नेपालले प्रस्तुत गरेको १४८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनसामु २८.१ ओभरमा मात्र ६० रनमै अलआउट हुन पुग्यो । ओमानका लागि जतिन्दर सिंहले २५ र जितेन रमानन्दीले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरू सस्तैमा समेटिए। ओमानलाई सस्तैमा रोक्न नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले तीन-तीन विकेट लिए भने ललित राजवंशी र कप्तान रोहित पौडेलले दुई-दुई विकेट हात पारे ।

यो जितसँगै नेपालले आगामी शनिबार हुने फाइनल खेलमा युएईको सामना गर्नेछ, जसले अर्को सेमिफाइनलमा हङकङलाई पराजित गर्दै फाइनलको यात्रा तय गरिसकेको छ । यस प्रतियोगिताको विजेता टोलीले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

advertisement_1676553908.gif