राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १० मंसिर, २०८०
नेपालगन्ज । नवौँ नेपालगन्ज म्याराथनको उपाधि हात पार्न सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की सफल भएका छन् । उनले आज शनिवार सम्पन्न ४२.१९५ दुरीको नेपालगन्ज म्याराथनमा दुई लाख रुपैयाँ पुरस्कारको पुरस्कार हात पारेका हुन् ।
यसअघि उनले छैठौं संस्करणको नेपालगन्ज म्याराथन उपाधि जितेका थिए । नेपाली सेनाका खडक बहादुर खड्कालाई उछिनेर पार्कीले उपाधि हात पार्न सफल भएका हुन् । उक्त म्याराथनमा २०७८ को संस्करणमा च्याम्पियन भएका सशस्त्र प्रहरीका किरण सिंह बोगटी तेस्रो भएका छन् । उनले भरखरै सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) मा ४२ किलोमिटर म्याराथनतर्फ नेपाललाई स्वर्ण दिलाएका थिए ।
प्रथम भएका पार्कीले दुई लाख रुपैयाँ पुरस्कार जिते । उपविजेता खड्काले रु.एक लाख र तेस्रो भएका बोगटीले ५० हजार रुपैयाँ जितेका छन् ।
यसैगरि हाफ म्याराथन तर्फको उपाधि सन्तोषी श्रेष्ठले हात पारेकी छिन् । ह्याट्रिक जितसँगै श्रेष्ठले ७५ हजार रुपैयाँ पुरस्कार हात पारिन् । यसअघि हाफ म्याराथनमा उनले दुईपल्ट उपाधि जितिसकेकी र गत वर्ष एक घण्टा १८ मिनेट ४८ सेकेण्डमा हाफ म्याराथन पूरा गरेकी सन्तोषीले ५१ हजार पुरस्कार पाएकी थिइन् । उनी १३ औँ सागमा १० किलोमिटर म्याराथनतर्फ स्वर्णविजेता खेलाडी हुन् ।उक्त हाफ म्याराथनमा फूलमति राना दोस्रो र पुष्पा भण्डारी तेस्रो भएकी छिन् ।
नेपालगन्ज म्याराथनका रेस डायरेक्टर चन्द्र गुरुङका अनुसार म्याराथनमा २८ जनाले नाम दर्ता गरेकोमा १८ जना मात्र निर्धारित दुरीमा पुगेका थिए भने हाफ म्याराथनमा २० जनाले नाम दर्ता गरेकोमा ६ जनाले मात्र दुरी पूरा गरेका थिए ।
त्यसैगरि १० किमि महिला र पुरुषतर्फ शीर्ष तीन स्थानका विजेताले ३० हजार, १५ हजार र १० हजार पुरस्कार पाए भने स्कुलस्तरीय ५ किमि दौडमा शीर्ष तीन स्थानका विजेतालाई ५÷ हजार र २ हजार प्रदान गरिएको छ । यसमा बाँके जिल्ला बाहिर र जिल्लाभित्रका विद्यार्थीलाई समेटिएको थियो ।
ह्विलचेयर दौडमा पुरुष र महिलाका शीर्ष तीन स्थानमा विजेताले ५ हजार, ३ हजार र २ हजार पाएका थिए । किड्स रनतर्फका विजेतालाई शैक्षिक सामाग्रीबाट प्रोत्साहन गरियो भने कर्पोरेट ५ किमि दौडका विजेतालाई प्याकेजबाट सम्मानित गरिएको हायोजकले बताएका छन्
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादी वीच दशक लामो सशस्त्र द्वन्द्वको अन्त्य पछि भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३)को स्मरणमा विगत ९ वर्षदेखि निरन्तर रुपमा नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ ।
नेपालगन्ज म्याराथनको ९ औं संस्करणमा रेकर्ड ब्रेक गर्ने खेलाडीले लण्डन म्याराथनमा सहभागी हुन अवसर पाउने जानकारी ठकुरीले दिए ।
आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले ‘म्याराथन, नेपाल र युकेबीच नेपालगन्ज म्याराथनको कोर्स रेकर्ड ब्रेक गर्ने एकजना खेलाडीलाई लण्डन म्याराथनमा सहभागी गराउने विषयमा बुधवार मात्र समझदारी भएको हो । लण्डन म्याराथन संसारकै ६ उत्कृष्ट म्याराथनमध्ये एक हो ।