राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २० असार, २०८१
काठमाडौँ, असार १९ । नेकपा (एमाले) बाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा बुझाएका छन् । बुधबार साँझ बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको हुन्।
कांग्रेस-एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन्। उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटबाट बालुवाटार पुगेका थिए।
एमालेले केहीबेर अगाडी सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् ।
प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा बुझाएको एमालेले जनाएको छ।
एमालेले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । योसँगै प्रधानमन्त्री प्रचण्डले अब संविधानको धारा १०० बमोजिम संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानले सरकारमा दल विभाजित भएमा वा आफ्नो समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था गरेको छ ।