आईतवार, ६ बैशाख, २०८३

एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै, सम्पूर्ण तयारी पूरा

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २८ मंसिर, २०८२

एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै, सम्पूर्ण तयारी पूरा

२०८२ मंसिर २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए । उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ ।

महाधिवेशनको उद्घाटन समारोहमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ । महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा.राजन भट्टराईकाअनुसार भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कुटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइरहेको छ ।

महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिने जनाइएको छ । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ ।

लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई एमालेले मुख्य स्वरूपमा राखेर उपत्यकाका महत्त्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी ठूलो र कलात्मक मञ्च निर्माण गरेको जनाएको छ ।

टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुई वटा ‘एलइडी स्क्रिन’ राखिएका छन् । तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका ‘साउन्ड सिस्टम’ जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सी राखिएको छ ।

महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालका अनुसार कलाकारले मञ्चमा नै राष्ट्रिय एकताको प्रतीक झल्काउने सांगीतिक प्रस्तुति दिने व्यवस्था गरिएको जानकारी दिए।

महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई  रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ । पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको छ ।

महाधिवेशनस्थल सल्लाघारी क्षेत्रमा आज बिहानैदेखि देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको आवागमन बढेको छ । प्रतिनिधिहरू कार्यक्रमस्थल अवलोकन गर्ने, फोटो खिच्ने र दर्ता प्रक्रियामा सहभागी हुने क्रमसँगै चौर वरपरको वातावरण उत्साहपूर्ण बनेको छ । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको छ भने ट्राफिक व्यवस्थापनलाई समेत विशेष प्राथमिकता दिइएको छ ।

एमालेले ११ औं राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी राजनीतिक दिशा, नीति, कार्यक्रम र संगठनात्मक सुदृढीकरणका दृष्टिले अत्यन्त महत्त्वपूर्ण महाधिवेशनका रूपमा लिएको छ ।उद्घाटन समारोहपछि महाधिवेशनका औपचारिक कार्यसूचीअनुसार बन्दसत्र, दस्तावेजमाथि छलफल, संशोधन प्रस्ताव र नेतृत्व चयनसम्बन्धी प्रक्रिया क्रमशः अघि बढ्ने जनाइएको छ । पार्टी नेतृत्वका अनुसार यो महाधिवेशनले वर्तमान राष्ट्रिय राजनीतिमा देखिएका चुनौतीहरू, आर्थिक तथा सामाजिक समस्याका सन्दर्भमा एमालेको स्पष्ट धारणा प्रस्तुत गर्ने र संगठनलाई थप मजबुत बनाउने आधार तय गर्ने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहसँगै सुरु हुने महाधिवेशनका गतिविधिले आगामी दिनमा एमालेको आन्तरिक संरचना र राष्ट्रिय राजनीतिको दिशा निर्धारणमा महत्त्वपूर्ण प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

advertisement_1676551646.gif