आईतवार, ६ बैशाख, २०८३

एमालेले छनोट गर्यो राष्ट्रियसभाका ६ उम्मेदवार

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २३ पुष, २०८२

एमालेले छनोट गर्यो राष्ट्रियसभाका ६ उम्मेदवार

२०८२ पुष २३, काठमाडौं । नेकपा (एमाले)ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।

एमालेले अन्य राजनीतिक दलसँगको गठबन्धनमार्फत सात सिट पाएको भए पनि मधेश प्रदेशबाट एक जना उम्मेदवारको नाम भने अझै तय हुन बाँकी रहेको जनाएको छ ।

एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल भएको छ । सोही तालमेलअनुसार एमालेले सात सिटमा दाबी गरेको छ ।

एमालेले प्रदेशगत रूपमा कोशी प्रदेशबाट रोशनी मेचे, बागमती प्रदेशबाट डा. प्रेमकुमार दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी सचिवालयमा भएको छलफलपछि अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरूको नाम टुंगो लगाएका हुन्। मधेश प्रदेशबाट एक जनाको नामबारे भने छलफल जारी रहेको पार्टी जनाएको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम तय गरेको छ । आयोगका अनुसार आज बिहानदेखि दिउँसोसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिनेछ ।

advertisement_1680627706.gif