आईतवार, १ मंसिर, २०८२

एमालेले गर्यो प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै देशभर प्रदर्शन

राष्ट्रिय सन्‍देश संबाददाता, २१ घण्टा पहिले

एमालेले गर्यो प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै देशभर  प्रदर्शन

२०८२ कार्तिक २९, काठमाडौँ । विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपा (एमाले)ले शनिबार देशैभर प्रदर्शन गरेको छ ।

संसद बिघटनबिरुद्ध एमालेले घोषणा गरेको जनपरिचालन कार्यक्रम अन्तर्गत शनिबार देशभरका जिल्ला तथा बिभिन्न शहरमा विरोध प्रदर्शनका साथै जनसभाको आयोजना गरिएको हो । यसैक्रममा नेकपा एमाले रुपन्देहीले बुटवलमा बृहत जनप्रदर्शन र सभा गरेको थियो ।

प्रतिनिधिसभा पुनस्र्थापना, संविधानको रक्षा तथा युवा पुस्ता-विशेषगरी जेन-जी माग पूरा गर्ने क्षमतामा आफ्नो पार्टी सक्षम रहेको दाबी गरिएको प्रदर्शनसहितको र्‍याली चौराहाबाट सुरु भएर बुटवलको ट्राफिक चोकमा पुगेर जनसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान सरकारले संविधानविपरीत र जनमतको अवहेलनासहित शासन गरिरहेको आरोप लगाए ।

जनपरिचालनको मंसिर ६ गते काठमाडौंमा प्रदर्शनसहित जनसभा गरेर समापन गरिने एमालेले जनाएको छ ।

advertisement_1676553851.gif