राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १ पुष, २०८२
२०८२ पुष ०१, काठमाडौं । नेकपा एमालेको काठमाडौंमा जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्र्तगत आज आगामी नेतृत्व चयनको लागि मतदान हुँदै छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको कार्यतालिकाअनुसार मतदान आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ ।
आगामी पाँच वर्षे कार्यकालको पार्टी नेतृत्वको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित मैदानमा उत्रिएका छन् । पोखरेलले ११औँ महाधिवेशनमा तेस्रोपटक अध्यक्ष बन्न लागेका ओलीलाई ईश्वरले चुनौती दिएका छन् ।
ओली पार्टीको नवौं र दशाैं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए । ओलीको प्यानलबाट पाँचजना उपाध्यक्षको लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।
ओलीको प्यानलबाट महासचिवमा वर्तमान महासचिव शंकर पोखरेल नै दोहोरिएका छन् । ओलीको प्यानलबाट तीन उपमहासचिवको लागि रघुवीर महासेठ, विष्णु रिमाल र लेखराज भट्ट चुनावी प्रतिस्पर्धामा छन् ।
नौजना सचिवको लागि पद्मा अर्याल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई चुनावी मैदानमा उत्रिएका छन् ।
पार्टी अध्यक्ष ओलीलाई पराजित गरेर पार्टी नेतृत्व आफ्नो हातमा लिनेगरी चुनावी मैदानमा उत्रिनुभएका अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेल पनि प्यानलसहित मैदानमा उत्रिएका छन् ।
पोखरेल प्यानलबाट पाँचजना उपाध्यक्षको लागि बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, गोकर्ण विष्ट र अरुण नेपालले उम्मेदवारी दिएका छन्। यस्तै, रघुजी पन्त र टंक कार्कीको पनि उपाध्यक्षमा उम्मेदवारी परेको छ । पोखरेल प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डे चुनावी भिडन्तमा उत्रिएका छन् । यो प्यानलबाट तीनजना उपमहासचिवको लागि योगेश भट्टराई र वैजनाथ चौधरीको उम्मेदवारी परेको छ।
नौजना सचिवको लागि पोखरेलको प्यानलबाट गोकुल बाँस्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोत्तम पौडेल र कृष्णगोपाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । ११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरोसहित ३०१ सदस्यीय कमिटी चुन्दै छन् ।