राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १ पुष, २०८२
२०८२ पुष ०१, काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भोलि बिहानबाट मात्रै मतदान हुने भएको छ । यसअघि आज राति ८ बजेबाट मतदान हुने तय भएकोमा भोलिका लागि सारिएको हो ।
प्राविधिक कारणले मतदान सरेको निवर्तमान महासचिव शंकर पोखरेलले बताएका छन् । ‘आज प्राविधिक कारणले मतदान हुन सकेन, ’उनले भने, ‘भोलि बिहान ८ बजे भृकुटीमण्डपमै मतदान हुनेछ ।’ विद्युतीय मेसिनबाट हुने मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला प्राप्त भएकाले इन्ट्री गराउन समय लागेको बताइएको छ ।
तीन सय एक सदस्यीय नयाँ कार्यसमितिका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने बताइएको छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्ने छन् ।
नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।