राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ३ पुष, २०८२
२०८२ पुष ०३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेर अघि मतदान सम्पन्न केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ जना मतदानमा अनुस्थित भए। महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए ।
उनले मतगणना अहिले बिहान ८ः०० बजेदेखि सुरु गर्ने तयारी गरिएको जानकारी दिए । “मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्न अझ केही समय लाग्छ”, उनले भने, “मतगणना भएको तीन घण्टाभित्र परिमाण आउँछ ।”
एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएको थियो । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो। मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो ।
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ । यस्तै, महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल तथा ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार बनेका छन् ।
दुई प्यानलबीच नेतृत्वमा प्रतिस्पर्धा हुँदा एमाले पदाधिकारी र केन्द्रीय कमिटीमा दुई प्यानलकै नेताहरू समावेश हुने देखिएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका अनुसार अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको तर अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा छासमिसे नेतृत्व आउने दाबी गर्छन् ।