राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २ पुष, २०८२
२०८२ पुष ०२, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदानको तयारी पूरा भएको छ ।
मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो । बिहान ८ बजेदेखि मतदान सुन हुने सूचना पाएपछि प्रतिनिधिहरु लाइनमा बसेका छन् ।
मंगलबार मतदान हुने भनिएपनि पटक-पटक समय परिवर्तन गरेर अन्तिम समयमा स्थगित गरिएको भएको थियो । नेतृत्व चयनका लागि अन्तिम पटक मंगलबार साँझ ७ बजेदेखि मतदान गर्ने निर्वाचन कार्यतालिका तय गरिएको थियो । तर, प्राविधिक तयारी पूरा नभएको जनाउँदै हुने भनिएको मतदान कार्यक्रम स्थगित गरिएको एमालेको निर्वाचन आयोगले जनाएको हो ।
आयोगका अनुसार प्रतिनिधिहरूलाई आज बिहान भृकुटीमण्डपमा उपस्थित हुन आग्रह गरिएको छ । निर्वाचनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिनेछ भने रामलक्ष्मण भोटिङ मेसिनमार्फत मतदान हुने आयोगले जानकारी दिएको छ ।
महाधिवेशनको निर्वाचनअन्तर्गत वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलै बनाएर चुनावी मैदानमा छन् । पार्टीको निर्वाचन आयोगले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छानविनपछि अन्तिम नामावली प्रकाशन गरेको थियो ।
जसअनुसार अध्यक्षमा दुईजना, उपाध्यक्षमा ११ जना, महासचिवमा दुईजना, उपमहासचिवमा सातजना, सचिवमा २० जना उम्मेदवार छन् ।अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल उम्मेदवार छन् । पाँचजना उपाध्यक्षका लागि अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन्। महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन् ।
त्यस्तै, तीनजना उपमहासचिवका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार छन् ।
नौजना सचिव पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की छन् ।