आईतवार, ६ बैशाख, २०८३

एमाले महाधिवेशन : साँझ ७ बजेदेखि मतदान हुने

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १ पुष, २०८२

एमाले महाधिवेशन : साँझ ७ बजेदेखि मतदान हुने

२०८२ पुष ०१, काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बेलुका ७ बजेदेखि मतदान हुने भएको छ । पार्टीको निर्वाचन आयोगले मतदानको समय बेलुका ७ बजेदेखि राति १ बजेसम्म निर्धारण गरेको छ ।

पहिलो योजना अनुसार मतदान दिउँसो २ बजेदेखि सुरु गर्ने तयारी थियो, तर आन्तरिक व्यवस्थापन र प्राविधिक तयारीका कारण मतदान समय पछि सारिएको निर्वाचन आयोगले जनाएको छ ।

मतदान विद्युतीय भोटिङ मेसिन (ईभीएम) मार्फत हुनेछ । आयोगले प्राविधिक टोलीले तयार पारेको क्रमसंख्यासहितको उम्मेदवार नामावलीमा केहि त्रुटि भेटिएपछि मिलाउन समय लागेको जनाएको छ ।

महाधिवेशनमा १९ पदाधिकारीका लागि ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा चलिरहेको छ । कुल मिलाएर सबै पदमा ३०० भन्दा बढी उम्मेदवार छन् ।

निर्वाचन प्रक्रिया काठमाडौंको भृकुटीमण्डपमा जारी छ । आयोगका अनुसार मतदान रामलक्ष्मण इनोभेसन कम्पनीले प्रदान गरेको भोटिङ मेसिनबाट हुनेछ ।

advertisement_1676551694.gif