राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २२ मंसिर, २०८२
२०८२ मंसिर २१, काठमाडौँ । नेकपा (एमाले)को महाधिवेशनमा युवा संघ नेपालले कम्तिमा ५० हजार युवा काठमाडौं उतार्ने घोषणा गरेको छ ।
युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारी अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरुको उल्लेख्य सहभागिता बढाउन संंघले विभिन्न वडा, जिल्ला, पालिका र प्रदेहरु कमिटीहरुलाई अनिवार्य रुपमा युवाहरुको सहभागिताका लागि उत्प्रेरक परिचालन गरिएको छ । थेबेका अनुसार काठमाडौं र ललितपुरका ६१ वटा वडाबाट १०० हजारका दरले ६१००, उपत्यकाका अन्य १९ वटा पालिकाबाट १ हजारका दरले १९ हजार, उपत्यका बाहेक बागमतीका १० वटा जिल्लाबाट १५०० सयका दरले १५००० जना युवाहरु जुटाउने युवा संघको तयारी छ ।
यसैगरी, महाधिवेशनमा कोशी प्रदेशबाट ४ हजार ,मधेशबाट ४ हजार, गण्डकी ३ हजार लुम्बिनीबाट २ हजार, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ५ सयका दरले १००० युवा जुटाउने युवा संघले जनाएको छ । संघका अध्यक्ष थेबे भन्छन्, ‘हामी टाउको गनेर नै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्छौँ । यसका लागि हाम्रो संगठनका सबै कमिटीहरु परिचालन गरेका छौँ । ’
एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुने एमालेले जनाएको छ ।